EducationSociety

बालबालिकाले के कसरी सिक्छन ?

बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । भनेको मान्दैनन्, सोचेअनुरूप पढिदिएनन्। त्यस्तै शिक्षकका नजरमा पनि विद्यार्थी बिग्रिए । अनुशासन छैन, नैतिकता छैन, राम्ररी पढेनन् । होहल्ला, डुलघुम र मोजमस्तीमा मात्रै भुले । आजको बुझाइ यही छ । विद्यालय छन् । शिक्षक छन् । विद्यार्थी छन् । शिक्षा छैन । अभिभावक भन्छन्– शिक्षकले पढाएनन् । शिक्षक भन्छन्– अभिभावकले संस्कार दिएनन् । दुवैको पन्छिने कुरा । मारमा बालबालिका ।

बालबालिका आफैं बिग्रिँदैनन् । बिग्रनु र सप्रनुको ज्ञान उनीहरूमा हुँदैन । उनीहरू सिक्छन्– जे देख्छन् , जे हामी गर्छौं । हामीले भनेका कुरा राम्रा छन् , त्यो उनीहरूले सुनेको कुरा । हामीले गर्ने व्यवहार कस्तो छ ? त्यो उनीहरूले देखेको कुरा । हामीबाट उनीहरूले के पाएका छन् ? त्यो उनीहरूले भोगेको कुरा । मानव मस्तिष्कले सुनेको कुरा चाँडै बिर्सन्छ । देखेको कुराअलि लामो समय सम्झन्छ । भोगेको कुरा चिरस्थायी हुन्छ ।

सबै अभिभावक आफ्ना सन्तानको भलो, सुख र समृद्धि चाहन्छन् । कतिपय अभिभावकले त आफ्ना सन्तानमा कडा निगरानी राख्छन् । कडा रूपले प्रस्तुत हुन्छन् । हामीले सन्तानलाई असल बनाउन यसो गरे पनि यसले बालबालिकामा नकारात्मक असर पर्छ । यस्तो स्वभावले बालबालिकामा नराम्रो छाप पर्न जान्छ ।

अभिभावकले आदेश अनि शिक्षकले आदर्श सुनाउँछौं । पढाइका क्रममा हामी बालबालिकालाई पट्यारलाग्दा कुरा सुनाइरहेका छौं ।  व्यावहारिक छैन । कथाजस्तो ‘चाखगाग्दो’ पनि छैन ।

बालबालिका भाषण सुन्न चाहँदैनन् । त्यसमा मजा छैन । सुन्न सक्ने समय कति हो ? कसैले दर्शन, विचार वा आदर्शका विषयमा दिएको भाषण सुन्ने क्षमता मानिसमा कति हुन्छ ? बढीमा १२ मिनेट वयस्कमा, ७ मिनेट बालकमा । यसको अर्थ भाषण विधि काम लाग्दैन । शिक्षकले बुझ्नुपर्ने ।

हाम्रो समाज आदेशमुखी छ । सानालाई ठूलाले आदेश दिने । सानाले केही जानेको छैन । उसका सबै कुरा गलत । हाम्रा सबै कुरा ठीक । यही आदर्शले हामीलाई निर्देशित गरेको छ । यही आदर्शको अनुकरण हामी गर्छौं । केटाकेटीलाई ‘तँ’ भनेर सम्बोधन गर्छौं । ऊबाट आफूलाई ‘तपाईं’ भनाउँछौं । आफू सम्मान चाहने, अरूलाई सम्मान नगर्ने । ‘आफू सम्मान चाहनेले पहिले अरूको सम्मान गर्न सिक्नुपर्छ’ भनाइ ठीक छ तर गराइ ?

अभिभावकबाट नानीहरूले संस्कार सिक्छन् । संस्कार अरूले सिकाउने होइन । बालक अभिभावकसँग कुरा गर्न चाहन्छ । कुरा गर्न समय दिऔं । ऊ मन फुकाएर बाबुआमासित कुरा गर्न चाहन्छ । साथमै रहेर पनि बाबुआमाले आफूलाई समय नदिएपछि बालबालिका निराश हुन्छन् ।

केटाकेटी ठानेर उनीहरूका अगाडि झूटो नबोलौं । फोनमा कुरा गर्दा सत्य बोलौं । घरमै भएको मान्छे ‘बिर्तामोड वा काठमाडौं गएको छु’ नभनौं । खराब लत छ भने त्यागौं । सकिँदैन भने उनीहरूका अगाडि त्यस्तो लत नदेखाऔं । हामी आफन्त तथा साथीभाइमाझ चित्त नबुझेका कुरा व्यंग्यात्मक तरिकाले भन्छौँ । तर, उक्त व्यवहार हुर्कँदै गरेको बच्चामा उपयुक्त हुँदैन । उनीहरू ठूला व्यक्तिले जस्तै पचाउन सक्दैनन् । घोचपेचले उनीहरूलाई मानसिक आघात पर्न सक्छ । यसले उनीहरू विस्तारै परिवारमा घुलमिल हुन छोड्छन् ।

‘केटाकेटीलाई किन चाहियो ?’ नभनौं । उनीहरू जिज्ञासु हुन्छन् । प्रत्येक जिज्ञासाको सकारात्मक समाधान दिने प्रयास गरौं । विकसित राष्ट्रमा बालकलाई ‘नगर’ भन्नु हुन्न रे । त्यो नकारात्मक भयो । सकारात्मक सिकाऔं । उदाहरणका लागि बालक कतै जान लाग्यो । हामी भन्छौं– त्यता नजा । यसैलाई सकारात्मक बनाउँदा कतै जान लागेको बालकलाई यता आऊ भनेर आफूतर्फ आकर्षित गर्दा सकारात्मक प्रभाव पर्छ रे । विज्ञका कुरा । अभिभावकले बुझ्नुपर्ने ।

हामी कक्षामा हल्ला नगर भन्छौं । हल्ला नगर्ने वातावरण बनाइदिँदैनौं । कक्षामा नाच्न लगाऔं, नाच्छ । गाउन लगाऔं, गाउँछ । चुट्किला सुनाऔं, हाँस्छ । कथा सुनाऔं, ध्यान दिएर सुन्छ । उसको आफ्नो बारेमा बोल्न लगाऔं, बोल्छ । परिवार, छरछिमेक, नातागोता, आमा–बाबाबारे भन्न लगाऔं, भन्छ । अनि आफूतर्फ आकर्षित गरेर पढाइ सुरु गरौं, मान्छ । हल्ला गर्दैन । अर्काको सम्मान गर्ने बानी बसालौं । नानीहरूलाई तपाईं भनेर सम्बोधन गर्नेबित्तिकै आधा समस्या समाधान हुन्छ । विषयवस्तुलाई रोचक बनाएपछि शतप्रतिशत समाधान हुन्छ ।

विधिका कुरा छन् । प्रविधिका कुरा छन् । अहिले अमेरिकाको विधि नेपालमा प्रयोग गर्न सकिन्छ । त्यताको प्रविधि पनि प्रयोग गर्न सकिन्छ । केवल सिर्जनशील बन्न आवश्यक छ । कसरी हुन्छ, कक्षालाई रमाइलो बनाउने प्रयत्न गरौं । बालकहरू सामाजिक हुन्छन् । तिनको सामाजिकता र बाल्यकाल ध्वस्त नपारौं ।

बालबालिका गैरजिम्मेवार बन्दैछन् । व्यक्तिवादी बन्दै छन् । अनैतिक बन्दैछन् । चरित्रहीन बन्दैछन् । हामी भन्छौं, प्रविधिले बिगार्‍यो । सञ्चारले बिगार्‍यो । उसको हातमा प्रविधि कसले राखिदियो ? प्रविधिले कहिल्यै मान्छे बिगार्दैन । त्यसको दुरुपयोगले मानिस कुलतमा फस्छ । कुलतले उसलाई बिगार्छ । गाँजा, भाङ र रक्सी मात्रै कुलत होइनन्, मोबाइल, गेम, फेसबुक र युट्युब कुलत बन्न सक्छन् ।

हाम्रा नानीलाई मोबाइल गेममा अभ्यस्त कसले बनायो ? हिजो हामीले होइन ? आफूलाई झिँजो नगरोस् भनेर गेम खोलेर हामीले छाडिदिएका हौं । टिभी खोलिदिएर घरमै थुनी हामी बाहिर गएका हौं । होम वर्क गर भनेर उसलाई थर्काउँदै आफूले टिभी खोलेर हेरेका हौं । अनि फोन आउँदा उसैलाई फोन उठाउन लगाएर ममी वा बाबा घरमा हुनुहुन्न भन्न लगाएको कसले ? त्यो संस्कार हो कि होइन ? पहिलो र महत्त्वपूर्ण संस्कार त्यही हो– सत्य र असत्यको ।

बीउ नरोपी बोट उम्रँदैन । बोट नउम्री फल लाग्दैन । हाम्रा नानीहरूमा नकारात्मकताको बीउ कसले रोपिदियो ? अनि कसले मलजल गर्‍यो र फैलँदै छ नकारात्मकता ? अरूका बालबच्चा बिगार्ने ठेकेदारहरू छन् भने अर्कै कुरा, नत्र एक छिन हामी अभिभावक र शिक्षकले गम्भीर भएर सोचौं । आफैंलाई साक्षी राखेर सोधौं, बालकको भविष्य निर्माणमा हामीले कति सही गरेका छौं । कति गलत ? गलत छन् भने आजैदेखि सुधारौं । सही छन् भने अरूलाई पनि सिकाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *