पढ्नुका फाइदाहरुः तनाव घटाउँछ, स्मरण शक्ति बढाउँछ, निद्रा लगाउँछ

प्रविधिमय आजको यो युगमा धेरैले प्रबिधिको फाइदा लिइरहेका छन् भने कतिपयले फेसबुक, टिकटक, इन्सटाग्राम जस्ता सामाजिक सञ्जाल र युट्युबमा आफ्नो समय बर्बाद गरिरहेका छन । सामाजिक सञ्जालहरुमा समय खेरफाल्नु भन्दा पढ्नु मनोवैज्ञानिक र संज्ञानात्मक हिसाबले निकै उपयोगी हुने धेरैजसो शोधले देखाइसकेको छ । जीवनमा सकारात्मक रुपान्तरणका लागी पुस्तक अपरिहार्य छ, पढाइ अति आवश्यक छ । अंग्रजीमा एउटा भनाइ नै छ, “गुड रिडर इज द गुड लिडर” / “Good Reader is the good leader”. यो अत्याधुनिक समयमा आफुलाई अपडेट राख्न र विकास भइरहेको नयाँ प्रविधि र प्रवृत्तिसँग सहज भइरहनका लागी पनि पुस्तक पठन आवश्यक छ ।

विभिन्न विद्वानहरूले पढ्नुका विविध फाइदाहरु देखाएका छन् । तीमध्ये केही फाइदाहरु यस्ता छन्ः

१. तीक्ष्णता बढाउँछः

बालकथाकार डा. सेउसले लेखेका छन्, ‘तपाईं जति पढ्नु हुन्छ, त्यति बढी कुरा थाहा पाउनुहुन्छ । जति बढी सिक्नुहुन्छ, त्यति ठाउँ घुम्नु हुन्छ ।’ एउटा असल पुस्तकले ज्ञानको खानी खोलिदिन्छ र त्यो खानी तपाईंले अन्त कतै पाउनु हुन्न । किताब पढेर बालबालिकाले जति शब्द सिक्छन्, टेलिभिजनबाट नसिक्ने केहीको दाबी छ । ५० प्रतिशत बढी शब्द किताबले नै दिन्छ । साना बेलामा जति बढी पढ्यो, त्यो पढाइ पछि निकै काम लाग्ने अध्ययनले देखाएको छ ।

. मस्तिष्क शक्ति बढाउँछ / मष्तिस्कलाई जवान राख्छ

पोषण र सन्तुलित भोजनले शारीरिक विकासमा सघाउ पुर्‍याएजस्तै पठनले मानसिक विकासमा त्यत्तिकै महत्व राख्छ । नियमित पठनले मस्तिष्कको शक्तिसमेत बढाइरहेको हुन्छ । हिँड्दा जसरी तपाईंको कार्डियोभास्कुलर प्रणालीले नियमित काम पाई शरीर तन्दुरुस्त पार्छ, पढ्ने क्रममा आएका शब्द तपाईंको दिमागमा घुमिरहँदा मस्तिष्कले काम गर्ने अवसर पाउँछ । जति बढी काम पायो, मस्तिष्क उति सक्रिय हुन्छ र जुन अङ्ग सक्रिय भयो, त्यसले दिने परिणाम पनि उति नै राम्रो हुन्छ । एउटा अध्ययनअनुसार, साहित्य पठनले अन्य व्यक्तिबारेको बुझाइ बढाउँछ । त्यस्तै यसले अघिल्तिर व्यक्तिको अनुहारको हाउभाउ पढ्न सक्ने पनि बनाउँछ । जो मानिस पठन तथा रचनात्मक गतिविधिहरुसँग जोडिइरहन्छन्, उनीहरु सँधै केही नयाँ सोच्छन् । उनीहरुको मस्तिस्क यस्तो नगर्ने मानिसहरुको तुलनमा ३२ प्रतिशतसम्म जवान रहन्छ ।

. ध्यान केन्द्रित गर्न सघाउँछ:

छोटा ब्लग र समाचार पढ्ने धैर्य र पूरै किताब पढ्ने धैर्यबीच फरक छ । किताब पढ्नेहरुमा बढी धीरता हुन्छ । धीरता बढी हुने व्यक्तिले आफ्नो सोचलाई केन्द्रिकृत गर्न सक्छ । किताब पढ्न बाहिरी संसारबाट पूरै विच्छेद भई बस्नुपर्ने हुन्छ । यो विच्छेदले तपाईंभित्रको सचेतता बढाउँछ । पठनले एकाग्रतालाई बढाउँछ । कुनै पनि काममा सफलता प्राप्त गर्न उक्त कामप्रति अधिकतम एकाग्रता हुन अनिवार्य छ ।

. सिर्जनशीलता बढाउँछः

किताब पढ्दा तपाईंलाइ त्यसका पात्र, हाउभाउ, पृष्ठभूमि, तिनका महत्वाकांक्षा, इतिहास र कैयौँ साना कुराहरु याद आउँछ । किताबमा गाँसिएका स–साना उपकथा पनि सम्झनु हुन्छ । मोटा किताब पढ्नुका फाइदा के हुन्छ भने आवश्यक परेका बेला ती उपकथा स्वाट्ट अन्य प्रसङ्गमा जोडिएर आउँछन् । ती प्रसङ्गले तपाईंको सिर्जनशीलता बढाउन सहयोग पुर्याउँछन् ।

. तनाव घटाउँछः

किताब पढ्नुको एउटा फाइदा यो पनि हो । युनिभर्सिटी अफ ससेक्सले गरेको एउटा अध्ययनअनुसार पढ्दै नपढ्ने व्यक्तिको तुलनामा दिनमा कम्तिमा पनि ६ मिनेट पढ्ने बानी भएका मानिसहरुको तनाव सहज बनाउने, मांशपेसीको दबाब खुकुलिने गर्छ । पुस्तक पढ्नाले तनाव बढाउने हार्मोन अर्थात कार्टिसोल कम हुन्छ । जसले गर्दा तनावको तह स्वाट्टै तल झर्ने गर्छ । काम वा पारिवारिक झन्झटको जतिसुकै बढी तनाव होस्, पढ्न बसेपछि त्यो तनावको स्तर घट्छ । तनावग्रस्त अवस्थामा दिमागमा आउने निरर्थक कुराहरुमा लगाम कस्ने काम किताबले गर्छ र, तनाव कम हुन्छ ।

६. मज्जाको निद्रा लाग्छः

अमेरिकाको माया क्लिनिकले गरेको एउटा अध्ययनअनुसार निद्रा कम लाग्ने वा नलाग्ने मानिसलाई किताब थमाइदियो भने स्वाभाविक निद्रा लगाउन सहयोग गर्छ । सुत्नुअघि टेलिभिजन हेर्नु भन्दा किताब पढ्नाले राम्रो निद्रा लगाउने पनि उक्त अध्ययनले देखाएको छ । अमेरिका र युरोपजस्ता विकसित मुलुकहरुमा भने किताबको साटो इलेक्ट्रोनिक सामग्रीहरु इबुक वा ट्याब्लेटमा पढ्ने बानी विकसित हुन थालेकामा भने चिन्ता गर्न थालिएको छ । तिनले निद्रा चोर्न थालेको चिकित्सकहरुको निष्कर्ष छ ।

. लेखन शक्ति बढाउँछः

जसले बढी पढ्छ, उसको शब्दसामर्थ्य बढी हुन्छ । जसको शब्दसामर्थ्य राम्रो हुन्छ, उसले लेखेको बढी बुझिने हुन्छ । अर्कोतर्फ बढी पढ्ने व्यक्तिमा अन्य राम्रा लेखकको प्रभाव नजानिदो किसिमले घुसेको हुन्छ । त्यो राम्रो प्रभावका कारण त्यस्ता व्यक्तिका लेखनीमा स्पष्ट झल्किन्छ । समयक्रममा लेखनीमा परिष्कार हुँदै एउटा भिन्दै शैली बन्ने हुनाले बढी पढ्ने व्यक्तिका कुरा बढी पढिने पनि हुन्छ ।

८. स्मरणशक्ति बढाउँछः

पढ्ने बानीले स्मरणशक्ति बढाउँछ, तेज गराउँछ । स्मरणशक्ति बढाउने दाबी गरिएका कैयौं औषधिहरु पनि बजारमा उपलब्ध हुन सक्छन् तर, स्मरणशक्ति तेज बनाउने सबैभन्दा प्रभावकारी तरिका पुस्तक पढ्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *