Education

पढ्ने / अध्ययनमा बानी बसाल्ने सुत्रहरु

पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पुर्‍याउँछ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ । तर हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन । हामीलाइ दैनिक जिवनमा विभिन्न कुराहरुले पढ्नका लागि अवरोध सृजना गरिररहेका हुन्छन के तपाई पनि यस्तै समस्याले पिडित हुनुहुन्छ यदि हो भने तलका केहि बुदाहरु तपाईका मार्ग निर्देशक बन्न सक्छन्

१) थोरैबाट सुरुवात 

एकैचोटी धेरै पढ्न खोज्दा पढ्न सकिँदैन । भर्खरै पढ्न सुरु गरिएको छ भने कुन कुन पुस्तक पढ्ने भनेर छनोट गर्नुस् । पूरा गर्नै नसक्ने प्रतिबद्धता नगर्नुस् । आज यति पढिसक्छु भनेर सहजताको साथ सुरु गर्ने । पुस्तक पढ्ने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिबद्धता गर्न सकिन्छ । यसो गर्दा पढ्ने तनाव हुँदैन । भोलि पनि त्यही पुस्तक सुरुवात गर्ने र पढ्दा तनाव महसुस भएन भने अघिल्लो दिनको भन्दा १० पाना अरु बढाउन सकिन्छ ।

२) आफ्नो उद्देश्य आफैँले बनाउने

पढ्ने उद्देश्य आफैँले बनाउने हो । अरु कसैले भन्दैमा बानी बस्दैन । अरुले भनेको आधारमा पढाइ त सुरुवात गरिएला तर निरन्तरता दिन गाह्रो हुन्छ । सन् २००९ मा अमेरिकी एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले जसले अब यसरी पढ्छु भनेर साथीभाइमाझ योजना सुनाउँछ, कालान्तरमा उनीहरुले नपढ्ने देखिएको थियो । किन यस्तो हुन्छ त ? अनुसन्धानअनुसार आफू कसरी पढ्ने भन्ने योजना अरुलाई सुनाउँदा अर्को व्यक्तिले तिमीले भनेजसरी हैन, मैले भनेजसरी पढ भनेर योजना सुनाइँदिदा र त्यो योजना अँगाल्दा आफ्नो योजना विफल भएको देखिएको छ । त्यसकारण केही नितान्त व्यक्तिगत योजना नसुनाएकै राम्रो ।

३) अत्यास लाग्दा नआत्तिनुस्

अधिकांश पाठकलाई जतिसुकै मज्जाको पुस्तक भए पनि बीचमा पुगेपछि पढ्न अल्छी लाग्छ । मैले यो किन यो पढिरहेको छु भनेर अत्यास लाग्छ तर पिर नमान्नुस् । जे हुन्छ राम्रैको लागि हुन्छ । पढिरहेको पुस्तकबाट केही ज्ञान प्राप्त गरेजस्तो लाग्दैन वाहियात लाग्छ भने त्यो छाडिदिनुस् र अर्को सुरु गर्नुस् । ‘द ह्यापिनेस प्रोजेक्ट’/‘The Happiness Project’ का लेखक रविनले भनेका छन्– जित्ने मान्छे कहिल्यै भाग्दैन । ऊ अघि बढ्छ । पढ्दापढ्दै अल्छी लाग्यो भने तपाईं झन् धेरै पुस्तक पढ्नुस् राम्रा राम्रा । अल्छी लाग्यो भनेर बीचैमा छाड्ने हो भने कहिल्यै पढिदैन ।

४) जे मन पर्छ त्यही पढ्ने

सुरुवाती चरणमा आफ्नो रुचि के हो थाहा नहुन सक्छ । त्यतिबेला जुनसुकै पुस्तक पनि पढिन्छ तर केही फरक स्वादका पुस्तक पढ्दै गएपछि भने आफ्नो रुचि ठ्याक्कै थाहा हुन्छ । मान्छेको स्वभावअनुसार रुचि फरक हुने गर्छ । कसैलाई आख्यान मन पर्ने हुन सक्छ भने कसैलाई गैरआख्यान । आफू जे पढ्दा रमाउन सकिन्छ, त्यही विधा रोज्न सकिन्छ ।

५) पुस्तक नछुटाउनुस् 

जहाँ जाँदा पनि आफूसँगै पुस्तक लैजानुस्, नछुटाउनुस् । यस्तो अवस्थामा तपाईंले थोरै फुर्सद हुँदा वा मौका पाउनेबित्तिकै पढ्न सक्नुहुन्छ । कसैलाई पर्खिरहनुभएको छ, अस्पतालमा लाइनमा हुनुहुन्छ भने यस्तो बेलामा तपाईंको सबैभन्दा राम्रो साथी पुस्तक नै बन्न सक्छ ।

६) पढ्नको लागि समय छुट्ट्याउनुस् / सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्

सबैभन्दा ठूलो कुरा पढ्नका लागि समय छुट्ट्याउनु हो । जब हामीले समय नै छुट्ट्याएर, यो महत्वको काम हो र यसलाई म यति समयमा पढ्छु भनेर प्रतिबद्ध भयौँ भने केही दिनभित्रमा नै हामी त्यो समय तालिकामा अभ्यस्त हुन्छौँ । तपाईंलाई केही पनि कुराले ‘डिस्टर्ब’ गर्नु हुँदैन। सामाजिक सञ्जाल, युट्युबले तपाईंलाई अल्मल्याउन सक्छ। कहिलेकाहीँ इमेलको प्रयोग आवश्यक पर्न सक्छ। तर, अहिलेका मानिसले सामाजिक सञ्जाललाई गफ गर्ने साधन मात्र बनाएका छन्। उनीहरू सामाजिक सञ्जालमा घन्टौंसम्म गफ गरेर बस्छन्। कहिलेकाहीँ त मोबाइल वा अन्य ग्याजेटको प्रयोग पनि सामाजिक सञ्जाल चलाउनका लागि मात्र प्रयोग भएको पाइन्छ। त्यसैले सामाजिक सञ्जालको कम प्रयोग गरेर आफ्नो समय बचाउनुहोस् र अध्ययनमा लाग्नुहोस्।

७) पढ्ने कुरालाई चुनौतीका रुपमा लिनुहोस् 

निरन्तर ३/४ घण्टा लगातार पढ्नु कम्ती त चुनौतीको कुरा हैन ? पढाइलाई हलुका रुपमा नलिई चुनौतीको रुपमा लिनु पर्छ । त्यसरी लिँदा समयको व्यवस्थापन मिल्छ । सँगै अरुले के पढिरहेका छन् भनेर चिया गफ पनि गर्न सकिन्छ ।

८) पढ्ने वातावरण आफैँ सिर्जना गर्ने / उपयुक्त ठाउँ रोज्नुहोस्

वरिपरिको वातावरण आफैँ सहज हुँदैन, न त अरुले नै सहज बनाइदिन्छन् । आफूलाई कस्तो वातावरण चाहिएको छ, त्यसैअनुसार वातावण सिर्जना गर्ने हो । घरमा होहल्ला हुन्छ, आफ्नै फोन आएर हैरान भइन्छ भन्ने छ भने हल्लाकै बीचमा पढ्ने बानी बसाल्नु पर्छ र पढ्ने बेलामा मोबाइललाई बन्द गर्न सक्नुपर्छ । अध्ययन को लागि ‘डिस्टर्ब’ नहुने ठाउँको वातावरण तपाईंले रोज्नुपर्ने हुन्छ। त्यस्तो वातावरण, जसले तपाईंको ध्यान पढाइमै मात्र केन्द्रित गरोस्। त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ। तपाईंको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर पनि तपाईं अध्ययन गर्न सक्नुहुन्छ। तपाईंले अध्ययन गर्ने विश्वविद्यालय वा क्याम्पसमा पनि अध्ययनका लागि उपयुक्त स्थान हुन सक्छ। त्यस्ता स्थानहरूले तपाईंलाई अध्ययनका लागि प्रेरित गर्न सक्छन्। कहिलेकाहीँ कलेजका ‘क्याफ्टेरिया’हरू पनि अध्ययनका लागि रोज्न सकिन्छ। कहिलेकाहीँ दिक्क लागेको बेला तपाईंले कतै टाढा गएर पनि अध्ययन गर्न सक्नुहुन्छ।

९) पुस्तक आफैँ किन्ने 

जसरी हामी कपडाका लागि तथा अरु कामका लागि भनेर पैसाको जोहो गर्छौं, पुस्तकको लागि पनि जोहो गर्नुपर्छ । पुस्तक मागेर हैन, आफैँ किनेर पढ्ने बानी बसाल्नुपर्छ । जब पुस्तक पढिसकिन्छ, त्यसपछि त्यो पुस्तकबारे धारणा बनाउन सकिन्छ । त्यसलाई लेखेर अथवा छलफल गरेर प्रस्तुत गर्न सकिन्छ ।

१०) प्रविधिको अधिकतम प्रयोग गर्ने

धेरै जसोलाई प्रिन्ट पुस्तक नै मन पर्छ । पुस्तकको सुगन्ध, नयाँ पानालाई सुम्सुम्याउनुको मज्जा नै छुट्टै हुन्छ । स्क्रिनमा पढ्नुभन्दा पुस्तक नै हातमा लिएर पढ्नु कैयौँ गुना आनन्द हुन्छ । सधैँभरि साथमा प्रिन्ट पुस्तक नै लिएर हिँड्न नमिल्न सक्छ । त्यसको विकल्प स्वरुप अडियो बुक/इबुकलाई लिन सकिन्छ । हातहातमा स्मार्टफोन हुनेले सुन्न र स्क्रिनमा पढ्न सहज हुन्छ ।

११)सोेचाइ बदल्नुस्

पढ्ने कुरालाइ विशेष केही नठान्नुस् । पढ्नु पनि प्राकृतिक कुरा हो, जसरी हामी खान्छौँ श्वास फेर्छौं , सोच्छौँ, त्यस्तै पढ्नु पनि एउटा काम हो भन्ने सोच्नुस् । यसरी सोच्दा पढ्नै पर्ने छ भनेर चिन्ता लिइरहनु पर्दैन ।

१२) पढ्ने कुरा धेरै छन् 

अखबार, म्यागेजिन, अनलाइन सामग्रीहरु प्रशस्तै पाइन्छन् । फुर्सद भयो कि पढ्न तयार भइहाल्नुस् । जस कारण तपाईंको पढ्ने गति बढ्न थाल्छ ।

१३) धेरै थरिका पुस्तक पढ्ने 

पुस्तकहरुको विविधता यति धेरै छ कि हामीले के गर्दा के पढ्ने भनेर छुट्ट्याउन सक्छौँ । घुम्दा पढ्ने, घरमा गहिरो अध्ययन गर्ने, रेस्टुराँमा पढ्ने विषयहरु कि त किताब कि त इबुक छुट्याउनु पर्छ । यसरी ठाउँअनुसार, मुडअनुसार र इबुक वा किताबलाई छुट्याउन थाल्नु भएपछि तपाईंको पढ्ने जाँगर पनि बढ्दै जान्छ ।जति पढ्दै गयो, उति धेरै नयाँ कुरा थाहा हुँदै जान्छ । यसै समय खेर फाल्नु भन्दा पढ्नुका फाइदा बुझ्दै जानुहुन्छ ।

१४) मोबाइल टाढा राख्नुहोस्

मोबाइलले पनि तपाईंलाई डिस्ट्रब गर्न सक्छ। त्यसैले सबैभन्दा उपयुक्त विकल्प भनेको मोबाइललाई तपाईंबाट टाढा राख्नुहोस्। अथवा तपाईंले मोबाइललाई साइलेन्टमा पनि राख्न सक्नुहुन्छ। बरु, काम छैन भने मोबाइल नै स्विच अफ गरिदिनुहोस्। इमर्जेन्सी छ भने बेलाबेलामा मोबाइल चेक पनि गर्न सक्नुहुन्छ तर तपाईंको मुख्य ध्यान भनेको पढाइमै हुनुपर्छ। यो कुरा तपाईंका साथीहरूलाई पनि भन्नुहोस्। म्यासेज हेर्न सक्नुहुन्छ। जरुरी फोन गर्न सक्नुहुन्छ।

१५)  विश्राम लिनुहोस्

अध्ययन सँगसँगै विश्रामको पनि अत्यन्त जरुरी हुन्छ। कलेजको अध्ययन गर्नु पनि अन्य काम गरेजस्तै परिश्रम गर्नु नै हो। यहाँ पनि मेहनत पर्छ। तर, अध्ययनलाई बोझको रूपमा नलिनुहोस्। कलेजले गृहकार्य दिएको हुन सक्छ। एउटा विषयको गृहकार्य सकाएर अर्काे थाल्नुअघि विश्राम लिनुहोस्। बेलाबेलामा लिइएको विश्रामले अध्ययन सामग्रीमा केन्द्रित हुन मद्दत गर्छ । त्यसैले अध्ययनका क्रममा ब्रेकलाई पनि ध्यान दिनुहोस्। दिमागलाई फ्रेस बनाएर अध्ययन गर्नुहोस्।

१६)  नोट गर्नुहोस्

लेक्चर नोट गर्नुहोस्। शिक्षकले बोलेको कुरा ट्रान्सक्राइब गरेर अध्ययन गरिरहनुपर्छ। यसरी लेखेको तपाईंको नोटकपी एकदमै पुरानो देखिने गरी अध्ययन गर्नुहोस्। ट्रान्सक्राइब गरेर सरले पढाएको कुरा अध्ययन गर्दा दिमागमा पनि बस्छ। समयसमयमा यसरी बनाएको नोट हेरिरहनुहोस्। नियमित अध्ययन गरिरहनुभयो भने मात्र त्यो सामग्री तपाईंको दिमागमा ताजै बस्छ। आफूले अध्ययन गरेको कुराहरू साथीहरूलाई भन्नुहोस्। यसरी अध्ययन गर्दा जाँचको बेला तपाईंलाई कुनै समस्या पर्ने छैन। लेक्चर ट्रान्सक्राइब गरेर अध्ययन गर्नु सबैभन्दा छिटो सिकिने ‘विधि’ हो। पुनर्लेखनले तपाईंलाई याद दिलाउँछ। अध्ययन गरेका सामग्रीहरू छिटो सम्झिन सक्नुहुन्छ।

१७)  अध्ययन समूह बनाउनुहोस्

कलेजमा मेहनत नै गर्नुपर्छ। अध्ययनका लागि परिश्रम गर्नुपर्छ। कलेजमा आफूसँग मिल्ने केही साथीहरू जम्मा गर्नुहोस् । तर, ती साथीहरू आफ्नै क्लासका हुनुपर्छ । साथीहरूसँग मिलेर एउटा अध्ययन समूह बनाउनुहोस्। त्यसपछि, अध्ययन पनि समूहमै गर्न थाल्नुहोस्। यसरी अध्ययन गर्दा तपाईंलाई नआएको कुरा अर्काे साथीलाई आउन सक्छ। एकलाई नआएको कुरा अर्काेले भन्न सक्छ। यहाँ सबैले एकअर्कालाई सघाउनुपर्छ।

१८) अध्ययनपछि समीक्षा गर्नुहोस्

अध्ययन गरिसकेपछि अन्तिममा पढेको कुरालाई सम्झिनुहोस्। समीक्षाका लागि केही समय छुट्याएर अध्ययन गर्नुहोस् । पढेर किताब बन्द गर्ने हैन, केही समय रिभ्यु गर्ने हो। पढेका कुरा सम्झिनका लागि यो उपयुक्त माध्यम हो। अध्ययनमा बानी लगाउन यो उपयुक्त माध्यम बन्न सक्छ। पढेको कुरालाई लेख्नु पनि पर्छ। लेखर पढ्दा सम्झिन सजिलो हुन्छ।

(‘इन्क म्यागेजिन / फ्लोरिडा नेसनल युनिभर्सिटी’बाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *